काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरन्तरता चुुनौतीपूर्ण भएको बताएका छन् ।
मंगलबार बिहान भैरहवा विमानस्थलमा मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमानलाई स्वागत गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनमा व्यावसायिक उडान सुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने उनले बताए ।
मन्त्री किरातीले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन समेत निर्देशन दिए ।
‘बुद्व सर्किटकै बजारीकणका लागि यो विमानस्थल निर्माण भएको हो । भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनु पर्छ’, उनले भने, ‘यस विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास जारी छ ।’
मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको बताए । उनले दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए ।
मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डको हालैसम्पन्न भारत भ्रमण इतिहासमा कोशेढुङ्गा साबित भएको बताउँदै यस्तो ऐेतिहासिक सफलतालाई ओझेलमा पार्ने प्रयास भएको बताए ।