म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरे । सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै पुगेर औषधोपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण सङ्कलन गरिएको छ । नियमित औषधि सेवन गर्ने विवरण सङ्कलन गरेर सातवटै वडामा घरभेट गर्ने कार्यक्रमअनुसार वडा नं १ गुर्जामा दीर्घरोगीसँग भेटघाट गरिएको उनको भनाइ छ ।
गुर्जामा छजना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताए । सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधिको विवरण सङ्कलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको छ ।
कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले चालु आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।