काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताएका छन् ।
शैलजा आचार्य आदर्श समाजले आज यहाँ आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकता : भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।
‘लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ’, पूर्वराष्ट्रपति यादवले भने, ‘त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ ।’ उनले राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताए ।
उनले भने, ‘राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ । राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ । जबसम्म विधि र कानूनको शासन सही ढङ्गले जाँदैन र नेतृत्व सही ढङ्गले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन ।’
पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गर्नुभएका निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उनीप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरे ।