‘गौर हत्याकाण्ड’ सम्बन्धी मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलासमा



काठमाडौं । गौर हत्याकाण्डविरुद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।


हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडित परिवारका तर्फबाट त्रिभुवन साहले आइतबार सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको पेसी आज सोमबारका लागि तोकिएको थियो ।

उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको छ । साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाएका छन् ।