हेटौंडा । बागमती प्रदेशसभाले एक संकल्प प्रस्ताव स्वीकृत गरेको छ । बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रमुख सचेतक पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गरेका थिए । उक्त संकल्प प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।
संंकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । नेकपा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरेका थिए ।
नियम निलम्बन पश्चात् प्रमुख सचेतक पौडेलले भारतले संसद् भवनमा राखेको भारतको नक्सामा नेपालको भूमिसमेत समावेश गरेको विरोधमा संकल्प प्रस्ताव पेश गरेका थिए ।
भारतले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका नेपालका भूभाग समेटेरसंसद् भवनमा नक्सा राखेको भन्दै प्रदेशसभाको ध्यानाकर्षण गरिएको थियो । उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए । पौडेलले पेश गरेको उक्त प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका थिए ।
उक्त संकल्प प्रस्तावलाई दलगत रुपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए । संकल्प प्रस्ताव स्वीकृत गरेसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।