काठमाडौं । प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रम केही हदसम्म कर्मकाण्डी रहेको स्वीकार गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी नै भएको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रममा आफू सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यतामा पुगेको बताए । उनले भने,’यो कर्मकाण्डी छ, यसले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गर्दैन भन्ने कोणबाट आएको छ । परम्पराको सिकार भएको छ भन्ने विचार आएका छन् । राजतन्त्र हुँदा राजाको मुखबाट पढाइन्थ्यो, अहिले राष्ट्रपतिबाट पढाइन्छ, त्यो परम्परागत हुन्छ भन्नेमा म सहमत हुन्छु ।’
निर्वाचन पछि पहिले एमालेसँग गठबन्धन बनेको र दोस्रो कांग्रेससँगको गठबन्धनमा सरकार बनेको भन्दै प्रचण्डले यो दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रम मिसिएको मौलिक नीति तथा कार्यक्रम भएको जिकिर गरे ।
उनले भने, ‘एक हदसम्म भन्छु यो कर्मकाण्डी छ । केही आधारभूत कुराहरू विगतका सरकारले ल्याउने कुराहरू यस्तै यस्तै हुन्थ्यो । हिजो सरकारको नेतृत्व गर्ने सरकारका साथीहरूले भन्नुपर्ने हुन्छ विल्कुल सही आयो । पहिले ल्याएको गुणत्मक ढंगले फरक थियो ।’
उनले यसअघिका नीति तथा कार्यक्रमलाई कर्मकाण्डी देख्ने भए आफूले ल्याएको जस्तै रहेछ भनेर समर्थन गर्न पनि प्रधानमन्त्रीले आग्रह गरे ।