वीरगन्ज । चालु आर्थिक वर्ष २०७९र८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पूँजीगत खर्च ३५ प्रतिशत रहेको छ ।
यहाँका ४२ सरकारी कार्यालयले कूल बजेटको पुँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशत मात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार पुँजीगततर्फ चार अर्ब ४७ करोड २६ लाख ४२ हजार चार सय ३८ मध्ये वैशाख मसान्तसम्म एक अर्ब ५५ करोड २२ लाख १६ हजार १८ मात्र खर्च भएको छ भने चालुतर्फ १० अर्ब ३७ करोड ९३ लाख आठ हजार नौ सय ५७ मध्ये वैशाख मसान्तसम्म आठ अर्ब ४६ करोड ११ लाख एक हजार नौ सय १२ खर्च भएको छ ।
वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजारमध्ये वैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी दुई अर्ब २६ करोड ५० लाख २२ हजार दुई सय निकासा भएको कार्यालयले जनाएको छ ।
समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पूँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ ।