काठमाडाैं । काठमाडौं महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको संख्या बढ्न सकेको छैन । घरबहालमा लगाउनेलाई कानुनी दायरामा ल्याउनका लागि कामपाले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेको थियो ।
निर्देशिका जारी गरेको तीन महिना बितिसक्दा पनि घरधनी विवरण लिएर नगन्य मात्रामा मात्रै आउने गरेको कामपाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए । उनका अनुसार घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि गरिएको प्रयास अझै प्रभावकारी हुन सकेको छैन ।
यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाएका छन् भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्ने कानूनी व्यवस्था नै छ । राजस्व विभागका अनुसार अहिले तीन–चार दिनमा एक–दुई जनामात्रै विवरण बुझाउन आउने गरेका छन् । विभाग प्रमुख काफ्लेका अनुसार हाल महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने कामपाको तयारी छ ।
कामपाभित्रका सबैलाई करको दायरामा ल्याउने योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिकासँगै ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरेको थियो । घरबहाल विवरण बुझाउनेले घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । विवरण लिएर आउनेको सङ्ख्या कम भए पनि यही जेठ र असार महिनामा उक्त सङ्ख्या बढ्ने कामपाले विश्वास लिएको छ ।
निर्देशिकामा भएको व्यवस्था
निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएको बारेकोे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरघनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।
निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख हुनुपर्छ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्छ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउन सकिने व्यवस्था निर्देशिकामा छ ।
कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्छ । बहालमा बस्नेले घर छाड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्ने छ ।