साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा



काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिपमा घरेलु टोली भारत र नेपाल एउटै समूहमा परेका छन् । बुधबार दिउँसो नयाँ दिल्लीमा भएको ड्रमा नेपाल र भारत समूह ‘ए’मा परेका हुन् ।

नेपालसँगै समूह ‘ए’मा भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा लेबानन, माल्दिभ्स, बंगलादेश र भुटान रहेका छन् ।


लेबानन र कुवेत आमन्त्रित टोलीको रुपमा यसपटकको साफ च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो । प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित साफले दुई टोलीलाई आमन्त्रण गरेको हो ।

सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आगामी २१ जुन देखि ४ जुलाईसम्म भारतको बैंगलोरमा हुँदैछ । गत संस्करणको फाइनल खेलमा भारतले नेपाललाई हराउँदै कीर्तिमानी आठौंपटक साफको उपाधि जितेको थियो ।