बालकृष्ण खाँणको बयान आजदेखि, सरकारी वकिलको कार्यालय लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आजदेखि बयान लिइँदैछ । त्यसका लागि प्रहरीले प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ ।

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गतसाता पक्राउ परेका थिए ।


यसअघि आइतबार खाँणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान सकिएसँगै पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन् ।

यसै प्रकरणमा प्रहरीले फरार टोपबहादुर रायमाझीलाई पनि पक्राउ गरेको छ । उनलाई पनि आज अदालतमा उपस्थित गराएर म्याद थप गर्ने प्रहरीको तयारी छ ।