शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई



काठमाडौं । साहित्य सृजनामा जुटेकी वेदकुमारी न्यौपाने (गोरखा)लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ ।

लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा कार्यरत रहेर पनि साहित्य सेवामा लाग्नुभएकी न्यौपानेलाई सम्मान गर्ने निर्णय प्रकाशनले गरेको अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । नेपाली वाङ्मयलाई विविध विधामा सिर्जित डेढ दर्जन साहित्यिक कृति न्यौपानेले उपहारस्वरुप दिएका छन् ।


यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मानित व्यक्तित्व चयन समितिले यो निर्णय गरेको हो ।

यस सम्मानको आर्थिक व्यवस्थापन गायिका तथा पूर्वसचिव उर्मिला श्रेष्ठ भोजपुरेले गर्नुभएको प्रकाशनले जनाएको छ ।