सोमबारदेखि कराते प्रतियोगिता हुने



काठमाडौँ । नेपाल सितोरियो कराते डो सङ्घ, प्रयोगपोखरी डोजाको आयोजनामा सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ।

प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पुरुष तथा महिलामा एकल काता र कुमुतेमा समान ११–११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।


प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिए।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले युवा खेलाडीलाई सङ्गठित गर्न र सहिदप्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकका लागि ज्यान दिने सहिदको सम्झनामा प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिए।

प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ। ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदवारी नगरपालिकाको सहप्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेलहरू आदर्श कन्या निकेतनमा खेलाइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here