संविधानको दायराभित्रै रहेर समस्याको समाधान खोज्नुपर्छ : शेखर कोइराला



मोरङ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानको दायराभित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। मोरङको बुढीगंगा गाउँपालिका-१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संविधानले शान्तिपूर्ण आन्दोलनको अधिकार सबैलाई दिएको उल्लेख गरे। तर, हिंसा, आतंक, तोडफोड र आगजनी जस्ता कार्यहरू नेपाली काँग्रेसलाई स्वीकार्य नहुने उनले प्रस्ट पारे।

नेता कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। उनले सरकारले छानबिन समिति गठन गरी सो घटनाको यथाशीघ्र अनुसन्धान गरेर नेपाली जनतालाई विश्वास दिलाउनुपर्ने बताए।


उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरूले आफूलाई सुधार्नुपर्ने आवश्यकता औँल्याए। ”अहिलेको अवस्थामा राजनीतिक दलहरूले आफूलाई सुधारेर जनताको मन जित्न सक्नुपर्छ,” उनले भने। नेपाली काँग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दल मिलेर सरकार बनाउँदा संविधान संशोधन, सुशासन, आर्थिक विकास र रोजगारी सिर्जनाको प्रतिबद्धता व्यक्त गरिए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ थियो। उनले दलहरूले आफ्ना प्रतिबद्धता जतिसक्दो चाँडो पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

नेता कोइरालाले नेपालमा कृषि, जलविद्युत, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यिनको उचित उपयोगबाट युवाहरूलाई स्वरोजगार बनाई नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सकिने बताए। ”यी क्षेत्रको विकासले नेपाललाई समृद्धिको बाटोमा लैजान सकिन्छ,” उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here