

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गामा आगामी वैशाख २७ गते छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा हुने प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ ।
क्लबका संरक्षक तथा अन्तरराष्ट्रिय ओलम्पियन र गिनिज बुक अफ वल्र्ड रेकर्ड धावक हरिबहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।


अन्तर्राष्ट्रिय मापदण्डअनुसार कूल ५१ किलोमिटरको दूरी तोकिएको छ । अध्यक्ष शाहीले भने, “अघिल्ला वर्षमा ४९ किलोमिटर रहेको थियो । अहिले दौडको मार्ग परिवर्तन गरिएकोछ । जसमा खालीदेखि न्याउरीघाटसम्मको नयाँ पदमार्ग निर्माण भइरहेको छ ।”
प्रतियोगिता सञ्चालनका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय जुम्लाले बजेट व्यवस्थापन गरेको छ । नयाँ रुट माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुनेछ ।
दौडमा सहभागी खेलाडीहरूले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइने छ । प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १० किलोमिटर विद्यार्थी दौड १९ वर्षमुनी गरी करिब एक सय जना सहभागी हुने जनाइएको छ ।
क्लबका सचिव मधु न्यौपानेले दौडमा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय धावकको सहभागिता रहने बताउए । विगतका प्रतियोगितामा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकाबाट धावकहरूले भाग लिएका थिए ।
दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट सुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने क्लबका सचिव न्यौपानेको भनाइ छ । कूल ५१ किलोमिटर अल्ट्रा दौडका लागि सार्क राष्ट्रका धावकहरूले रु १४ हजार पाँच सय र अन्य देशका धावकहरूले रु २० हजार तिर्नुपर्नेछ भने नेपाली र स्थानीय धावकहरूका लागि रु पाँच हजार तोकिएको छ ।
कूल ५१ किलोमिटर प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुवैतर्फ रु एक÷एक लाख प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु ७५ हजार, तेस्रो हुनेले रु ५० हजार, चौथो र पाँचौ हुनेलाई रु २० हजार प्रदान गरिनेछ ।
