

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली हङ्कङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
कतार र कुवेतबीचको अघिल्लो दुई खेल जितेको रहेको नेपालले शनिबार एक अङ्क प्राप्त गरेसँगै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनलमा नेपालले कुवेतसँग खेल्नेछ । तीन खेलमा दुईमा जित हात पार्दै चार अङ्क बटुलेको कुवेतको रनरेट नेपालभन्दा राम्रो स्थितिमा थियो ।


यो अवस्थामा यदि शनिबारको खेलमा हङ्कङले नेपाललाई पराजित गर्न सकेको भए फाइनलमा पुग्न सक्थ्यो । वर्षाका कारण शनिवार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले आयोजक हङ्कङलाई ब्याटिङको निम्तो दिएको थियो । ९ ओभरमा हङ्कङले तीन विकेट गुमाइ ६८ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल स्थगित हुन पुगेको थियो ।
पानी नरोकिएपछि खेल अवरुद्ध भएको घोषणा गरिएको थियो । फाइनल खेल आइतबार नेपाल र कुवेतबीच हुनेछ ।
