

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकता पौडेलले उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको बेरितको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदन सुनुवाइका लागि पेशी चढेको छ । लामिछानेको उक्त निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइका लागि तोकिएको छ । गत शुक्रबार दर्ता भएको उक्त निवेदन आज प्रारम्भिक सुनुवाइको लागि पेशी तोकिएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाबमोजिम धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको आदेशविरुद्ध लामिछाने सर्वोच्च गएका हुन् । उच्च अदालतको आदेशमा लामिछाने अहिले जिल्ला कारागार रूपन्देहीमा थुनामा छन् ।


लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका थिए । सो प्रकरणमा जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालतले पुनः कारागारमा पुर्याइदिएको छ । उच्चको आदेशसँगै लामिछानेलाई प्रहरीले गत चैत २२ गते राति घरबाटै पक्राउ गरेको थियो ।
