यो सरकार ढल्छ भन्ने कुरा छोड्दिनुस्, हल्लिँदा पनि हल्लिदैनः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हल्लिँदा पनि नहल्लिने बताएका छन् । आज (शुक्रबार) बुटवलमा आयोजित नेकपा (एमाले) को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढल्ने कुरा सम्भव नरहेको बताएका हुन् । ‘यो सरकार ढल्छ भन्ने कुरा छोड्दिनुस्, हल्लिदा पनि हल्लिदैन,’– उनले भने ।

वर्तमान सरकारमा दुई तिहाइ बहुमत रहेको र एमाले–कांग्रेससँग मात्रै स्पष्ट बहुमत रहेको उनले बताए । यस्तो अवस्थामा सरकार ढल्ने कुरा केवल भ्रममात्रै रहेको उनले बताए । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले आगामी वैशाख ११ गते पार्टीको कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गरे । आगामी वैशाख ११ गते युवाहरु काठमाडौंमा उतारेर प्रतिक्रियावादी शक्तिहरुलाई देखाइदिने उनले बताए ।


‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–हामी एउटा युवा महोत्सव गर्दैछौं काठमाडौंमा । युवाहरुलाई म आग्रह गर्न चाहन्छु वैशाख ११ गते काठमाडौं । प्रतिक्रियावादी शक्तिहरुले, ती ताकत त होइनन् । खासमा शक्ति पनि होईनन्, तत्वहरु, अराजकतावादी तत्वहरुले बुझुन्, वैशाख ११ गते युवाहरुको शक्ति देखेर थाहा पाउन् । यो देश पछाडि फर्किँदैन । युवा कसको साथमा छ, त्यो पनि थाहा पाउन् । आफ्नै कानले सुनुन्, आफ्नै आँखाले देखुन् । युवा महोत्सव, त्यो विचार गोष्ठी होईन, महोत्सव हो । सम्मेलन होईन, सम्मिलन हो । हामी एमाले के हो भन्ने कुरा बताउने छौं । युवा शक्ति के हो भन्ने कुरा बताउने छौं,’– उनले भने ।