

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता फलदायी भएको बताएका छन् ।
आज (शनिबार) थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै उनले भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई व्यापक, विस्तृत र सुधार गर्दै लानेबारेमा छलफल भएको बताए ।


साथै, नेपाल र भारतबीच लगानी, व्यापार, पञ्चेश्वरलगायतका क्षेत्रमा पनि व्यापक छलफल भएको पनि प्रधानमनत्री ओलीले बताए । ‘धेरै लामो होइन, दुई प्रधानमन्त्रीको बीचमा सेप्टेम्बरमा हाम्रो भेट भएको थियो । राम्रो कुरा भएको थियो । यसपल्ट त्यो भन्दा बढी कुराकानी, हाम्रा लगानी, व्यापारको क्षेत्रको सन्दर्भमा, पञ्चेश्वरलगायतका थुप्रै विषयमा कुरा भएका छन् । व्यापकै क्षेत्रमा दुई पक्षीय हितको कुराकानी भएका छन् । नेपाल भारत सम्बन्धलाई व्यापक, विस्तृत र सुधार गर्दै लाने । समस्यालाई संवादमार्फत टुङ्ग्याउने भनेर हामीले गहिरो समझदारी गरेका छौं । फलदायी भेटवार्ता भयो । म खुसी छु, उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’– उनले भने ।
