मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ



मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।

मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण-मुक्तिनाथ रथयात्रा टोली चौथो दिन मुस्ताङको जोमसोमस्थित गणेश मन्दिरमा आइपुगेको छ ।


रथयात्रा टोलीमा स्वामी कमलनयनाचार्यसहित दर्जनौँ स्वामी पूजारी तथा दुई सयभन्दा बढी भक्तजनको सहभागिता रहेको छ । श्रीगजेन्दमो क्षनारायण-मुक्तिनाथ रथयात्रा टोली आज जोमसोमबाट कागबेनीधाम हुँदै मुक्तिनाथ पुगेर समापन हुने बताइएको छ । नवलपुरबाट जोमसोम आइपुगेको रथयात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित पर्यटन व्यवसायी तथा स्थानीय नागरिक, सुरक्षाकर्मी र कर्मचारीलगायतले स्वागतसत्कार गरेका थिए ।

मुस्ताङको जोमसोममा राष्ट्रिय लोक भजन चुड्का (संस्कृति) प्रतिष्ठान शाखा मुस्ताङले रथयात्रा टोलीलाई भजनचुड्काद्वारा स्वागत गरेको थियो । प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रममा मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here