बालेनलाई सुनिताको चुनौती : कोठामा बसेर निर्देशन दिने होइन यहाँ आएर समाधान खोजौँ



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ठ्याक्कै तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै आज भन्दा ठिक एक महिना अघि पत्र पठाएको थियो । 


पत्र पठाएको ठ्याक्कै एक महिनापछि आज गुरागाईँ महानगरपालिका पुगेका हुन् । उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दासँगै रहेका छन् । 

मेयर बालेन साहले उनलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरे पनि नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका हुन् । 

कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन साहले कार्यकक्षमै चाबी लगाएर बेपत्ता भएका थिए । 

गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू सबैले बैठक बसेका थिए । 

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । कसैको मनमुटाब होला जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ ।  

उनले हरेक घटनाक्रम आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् । 

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।’ 

उनले यस्तो मनमुटाब संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन्  । 

उनले भनिन्, ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’ 

उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्छ भनिन् ।  

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’, उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here