

मकवानपुर । सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच बजेटमाथिको विवाद टुंगो नलागेका कारण आज दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक साँझ ७ बजेतिर सूचना टाँसेर स्थगित भएको छ ।
प्रदेश सभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको हो । आज दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेश सभा बैठक सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । ४ बजे आह्वान गरिएको बैठक बस्ने अवस्था नरहेपछि साँझ ७ बजे सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको हो ।


आज बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठकपछिको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने अडान राख्दै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदै आएका थिए । मंगलबार बिना अवरोध बैठक सञ्चालनका लागि सभामुख पाठकले बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेका थिए । दलहरूबीचको लामो छलफलपश्चात् बेलुकी ७ बजेसम्म पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।
सरकार र प्रतिपक्षबीच विगतमा भएका सहमति कार्यान्वयनका लागि प्रतिपक्षीले जोड दिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापाले बताए ।
केही समयअघि बागमती प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठका स्वकीयको आत्महत्याको विषय छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग प्रतिपक्ष दल एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बताए ।
प्रदेश सभा सभामुख पाठकका अनुसार दलहरूबीच विगतको बजेटमाथिको सहमतिका विषय समेट्ने सहमति बनेको र सोहीअनुसार बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको थियो ।
विधेयकका प्रतिवेदनहरूलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विशेष समयको कार्यसूची राखेर बैठक सञ्चालन गरिने सभामुख पाठकको भनाइ छ ।
