

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घिसिङले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेकाले पदबाट हटाइएको बताएका हुन् ।


उनले संस्था र राष्ट्रप्रति घात गर्न आफूले नसकेको भन्दै कानुनअनुसार नै आफूले काम गर्दा समेत दबाब र प्रभाव थेग्नुपरेको बताए ।
उनले प्रश्न गरे, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’
घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको बताए । उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए । उनले स्वार्थ समूहका कारण आफूलाई हटाइएको बताए ।
उनले भने, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन् । सम्मान गरी पदबाट बिदा गर्नुपर्नेमा अपमान गरी बर्खास्त गरियो, त्यसका लागि सरकारलाई धन्यवाद । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रुपमा कहिले कम हुने छैन । राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छ, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’
घिसिङले आफूमाथि ऊर्जामन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाए । उनले भने, ‘ममाथि वर्तमान ऊर्जामन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो, परिपक्व सल्लाह मार्गदर्शन दिनुको सट्टा मनोबल गिराउन सुनियोजित आक्रमण गरियो ।’ उनले आफूले कानुन विपरीत कुनै काम नगरको बताए ।
