पोखरामा ‘फेवा नववर्ष महोत्सव’ सुरु



पोखरा । पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु भएको छ । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सवको शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।

यस प्रकारका मेला महोत्सवहरूले पोखराको पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुग्ने मेयर आचार्यले विश्वस व्यक्त गरे ।


महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । महोत्सवमा आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गरेका छन् ।

सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए ।

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ ।

लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछ । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here