

त्रिशूली (नुवाकोट) । नेपाल एड्भेन्चर रनिङ महासङ्घद्वारा आयोजित ‘दी त्रिशूली अल्ट्रा–२०२५’ मा महिला र पुरुष दुवैतर्फको विधामा नेपाल आर्मीको बर्चश्व रहेको छ । आर्मी क्लबबाट सहभागी पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सुनसरी रोकाय प्रथम भए ।
बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरबाट शनिबार सुरु भएर विदुर–५ स्थित जालपादेवी मन्दिरमा पुगेर सम्पन्न भएको ५८ किलोमिटर दौडमा पुरुषतर्फ आर्मीका श्रेष्ठले निर्धारित दूरी चार घण्टा ३३ मिनेटमा पूरा गरे। आर्मीकै गोपाल तामाङ दोस्रो भए ।


उनले निर्धारित दूरी चार घण्टा ३५ मिनेटमा पूरा गरे । सोलुखुम्बुका अर्जुनराज कुलुङ तेस्रो भए। उनले तोकिएको दूरी चार घण्टा ४१ मिनेटमा पूरा गर्नुभएको प्रतियोगिताको संयोजक राजन खत्रीले जानकारी दिए।
उनको अनुसार महिलातर्फ प्रथम भएका आर्मीका रोकायाले निर्धारित दूरी पाँच घण्टा ५१ मिनेटमा पूरा गरे । दोस्रो स्थानका लागि खोटाङका निर्मला राईले छ घण्टा १३ मिनेटमा निर्धारित दूरी पूरा गर्दा नेपाल प्रहरीका लाक्पानिमा शेर्पाले सात घण्टा १४ मिनेटमा पूरा गरे।
प्रतियोगितामा उत्कृष्ट भएका धावक (खेलाडी)लाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरे । प्रतियोगितामा पुरुष र महिला दुवै समूहबाट प्रथम हुनेलाई नगद रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार र तेस्रो हुनेलाई ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
बागमती प्रदेसको खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा नुवाकोटमा पहिलोपटक आयोजना गरिएको ‘ट्रेल रनिङ’ स्वरुपको दौड प्रतियोगितामा अन्तरराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका १४६ महिला र पुरुषको सहभागिता थियो ।
उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री तामाङले प्रतियोगितामार्फत नयाँ खेलाडीको उत्पादन गर्न, धावकको व्यक्तिगत क्षमता सुधार गर्न र नुवाकोटको धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको प्रचारप्रसारमा योगदान पुगेको बताए । प्रतियोगिताको आगामी संस्करण नुवाकोटको बेलकोटगढीबाट सुरु गरेर चीनसम्मको सीमा क्षेत्र रसुवागढीसम्म सञ्चालन गर्न आयोजकलाई सुझाब दिए ।
