

बीबीसी । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति यून सुक यउलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ ।
गत डिसेम्बरमा यूनले घोषणा गरेको ’मार्शल ल’ले देशमा राजनीतिक उथलपुथल निम्त्याएको थियो । जनवरीमा त्यहाँको संसदले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गर्दा उनी पहिलो पटक निलम्बनमा परेका थिए ।


यस फैसला आउनुअघि यूनका समर्थक र विपक्षीहरू सडकमा उत्रिएका थिए। हिंसात्मक विरोध प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीहरू खटाइएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सोले सार्वजनिक सुरक्षा व्यवस्था कायम राख्न आपतकालीन अवस्था जारी गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । महाभियोगपछि अब त्यहाँ ६० दिनमा चुनाव हुनु पर्छ ।
युनमाथि राजद्रोहको छुट्टै आरोप पनि लागेको छ जसबारे छुट्टै सुनुवाइ हुने छ । अन्ततः एउटा फैसला आएको छ। तर के यून र उनका समर्थकहरूले यसलाई स्वीकार गर्लान् कि नगर्लान् भन्ने तत्कालको चासो छ ।
यून र उनका वकिलहरू कानुनी प्रणाली भत्किएको आरोप लगाउँदै हरेक चरणमा अदालत पुगेका छन् । उनका कट्टर र प्रतिबद्ध समर्थकहरू न्यायालय पक्षपाती भएको दाबी गर्छन् । यदि उनीहरूले आजको महाभियोग स्वीकार गर्न अस्वीकार गरे भने दक्षिण कोरियाको राजनीतिक सङ्कट झनै जटिल हुन सक्छ ।
