

काठमाडौं । हङकङमा भएको चारदेशीय टी–२० सिरिजमा नेपाल उपविजेता भएको छ । आइतबार भएको फाइनल खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित हुँदै उप विजेता भएको हो ।
पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।


नेपालका सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिँदा करण केसी र कुसल भुर्तेलले एक एक विकेट लिए । जवाफी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको सुरुवात राम्रो भएन । कुशल भुर्तेल जम्मा ३ रन बनाएर आउट हुँदा नेपालले पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटको रुपमा अर्का ओपनर आशिफ शेख ११ बलमा २१ रन बनाएर पभेलियन फर्किए ।
तेस्रो विकेटको रुपमा कुशल मल्ल गोल्डेन डकआउट भए भने लगत्तै दीपेन्द्रसिंह ऐरी पनि खाता नै नखोली पभेलियन फर्किए । पाँचौ विकेटको रुपमा कप्तान रोशित पौडेल १६ बल खेलेर ७ रन बनाउँदा आउट भए ।
सोमपाल कामी ४ रन बनाएर रनआउट हुँदा गुल्सन झा ९ रनका साथ पभेलियन फर्किए । करण केसीको ब्याटबाट पनि ४ रनमात्रै बन्यो । क्रिजमा छैटौं नम्बरमा आएका बसिर अहमद र नवौं नम्बरमा आएका नन्दन यादवले नेपालको पारि सम्हाल्दै जित नजिक पु¥याएका थिए । नन्दनले १४ बलमा २ चौका र ४ छक्काको मद्दतले ३७ रन बनाए ।
अन्तिम २ ओभरमा नेपाललाई जितका लागि २३ रन आवश्यक रहेको थियो । नन्दनले लगातार २ छक्का प्रहार गर्दै टिमको आशा जिवितै राखे । लगत्तै उनी आउट भएपछि क्रिजमा आएका ललित राजवंशीले २ बल डट खेल्दै ओभर समाप्त पारेका थिए । अन्तिम ६ बलमा जितका लागि नेपाललाई ११ रन आवश्यक रहेको थियो ।
पहिलो बल नो सहित बसिरले छक्का प्रहार गरेपछि बाँकी बलमा ४ रन आवश्यक रहेको थियो । नो बलमा उनले रन लिन सकेनन् भने त्यसपछि अर्को बलमा क्याच आउट भएपछि नेपाल ३ रनले पराजित हुँदै उप विजेता बन्यो । बसिरले ४३ बल फेस गर्दा चार छक्का र ८ चौकाको मद्दतले ८० रनको शानदार पारि खेले । कुवेतका अनुदीपले ३ विकेट लिँदा नविन राज र यासिन पटेलले दुई दुई विकेट लिए ।
