चलचित्र ‘जार’ को श्रव्यदृश्य सार्वजनिक



काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै श्रव्यदृश्य सार्वजनिक गरिएको हो ।

श्रव्यदृश्यमा प्रमुख पात्र सौगात मल्ल, अनुपविक्रम शाही र गिताञ्जली थापालाई चित्रण गरिएको छ । कार्यक्रममा निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार भएको जानकारी दिए ।


उनले भने, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ । यसको पात्रलाई कलाकारले जीवन्त बनाउन गर्नुभएको मेहनतले म जस्तो नयाँ चलचित्रकर्मीलाई ऊर्जा थपेको छ ।”

आगामी वैशाख २६ गते प्रदर्शन हुने चलचित्रलाई निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले जानकारी दिए । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेका छन् ।

सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता मल्लले बताए ।

उनले भने, “मलाई यो पढेदेखि मन परेको कथा हो । यसमा रहेका विभिन्न पात्रमा आफूलाई कल्पना गर्थे । यसमा जोडिएर काम गर्न पाएँ, आफ्नो पात्रलाई जीवन्त बनाएको छु ।” उनले यस किसिमको चलचित्र समाजको एउटा समयलाई डिजिटल रूपमा सङ्ग्रहित गरेको बताए ।

अभिनेता शाहीले यो चलचित्रमा काम गर्नुअगाडि कथाकार राईको कथा पढेर पात्रलाई तयार गरेको बताए । “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ”, उनले भने ।

यस चलचित्रलाई प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने उक्त कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ ।