

पोखरा । राष्ट्रिय खेलाडी सहभागी सिइसी काठमाडौं केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।


तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो । ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाडौंका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३/३ विकेट हात पारे ।
समूह ‘ए’ बाट पोखरासहित स्याङजा र हेटौडा समेत बाहिरिएको छ । प्रतियोगिताको चौथो दिन मंगलबार समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबीच दोस्रो खेल हुनेछ ।
