कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।

उपप्रधान एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ । समयमै काम सक्न ८ घण्टाका दरले अहिले तीन सिफ्टमा काम पनि भइरहेको छ ।


उपप्रधानमन्त्री सिंहले निर्धारित समयमै सक्ने गरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनु पर्नेमा जोड दिएका छन् ।

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरी काम भइरहेको र अब नियमित रूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए ।

‘आजबाट मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नका लागि उनको चासो छ ।

गत चैत ७ गते उपप्रधानमन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here