किन बढ्दै छ वायु प्रदूषण ? जोखिमबाट कसरी बच्ने ?



काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांक हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो।

प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरण विज्ञ तथा चिकित्सकले विशेष चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषण कसरी रोक्ने र असर कम गर्ने भन्ने विषयमा छलफल गरेका थिए।


बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू( बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए। 

विपद् व्यवस्थापन तथा जलवायुविद् डा धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा वर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको त्यहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए। ‘यो समयमा तापक्रम बढ्दै गएको छ, कृषिवस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन। पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो’, उनले भने, ‘तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ।’

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताइन्। ‘बिहीबारदेखि हल्का हावा चल्ने सम्भावना छ। तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन’, उनले भनिन्, ‘पानी भने अर्को साता पर्ने सम्भावना पनि देखिन्छ। तर माहाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्छ। किनकि त्यो वेलासम्ममा परिवर्तन हुनसक्छ।’ वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै  भिजिबिलिटी (पारदर्शिता) कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको उनले बताइन्।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्वाधार निर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ।

‘काठमाडौं कचौरा आकारमा पनि छ। पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन। जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ’, उनले भन्यो।

जेठसम्म वायु प्रदूषण उच्च

विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुलारूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ। 

विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ। 

डढेलोको कारण प्रदूषण

डढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रि(मनसुन शुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए। 

‘बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ। मुलुकभर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ’, उनले भने, ‘हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवा नहुँदा आगो नियन्त्रण गर्ने जनशक्ति अभावले अझै चुनौती छ। डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here