कारागार चलान भएपछि रविले भने : अहिले म माथि प्रतिशोध साँधियो, पालो सबैको आउँछ



काठमाडौं, २५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले कारागार चलान भएपछि आफूलाई न्यायालयप्रति पूरा विश्वास रहेको बताएका छन् । कारागार चलान भएपछि आफ्नो सचिवालयमार्फत लामिछानेले सन्देश प्रवाह गर्ने क्रममा यस्तो बताएका हुन् । उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने कानूनी सुविधाको पनि उपयोग गर्ने कुरा लामिछानेले स्पष्ट पारेका छन् ।

सर्वोच्च अदालत जानेबारे लामिछानेले भनेका छन्–‘मेरा कानून व्यवसायीहरुले यसको तयारी गरिरहनुभएको छ । तल्लो तहको अदालतले दिएको आदेशविरुद्ध माथिल्लो तहको अदालतमा जान पाउने कानूनी अधिकारको सुदुपयोग गर्छु ।’ न्यायको मन्दिरबाट अन्याय हुनेछैन भन्नेमा आफू विश्वस्त रहेको पनि लामिछानेको भनाई छ । ‘जतिसुकै ममाथि राजनीतिक प्रतिशोध साँधिएपनि न्यायको मन्दिरबाट मप्रति अन्याय हुने छैन भन्नेमा म विश्वस्त छु ।’–लामिछानेको भनाई छ ।


उनले आफूमाथि अहिले राजनीतिक प्रतिशोध नै साँधिएको दाबी गरेका छन् । उनले अघि भनेका छन्–‘अहिले म माथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ, यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, ठीकै छ, तर यस्तै परीक्षामा धेरैले परीक्षा दिनुपर्नेछ । धैर्य गरौं । त्यो पालो क्रमशः सबैको आउँछ । म डराएको छैन् । आँत्तिएको छैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here