काभ्रेपलाञ्चोकको दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया



धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गरे। एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मंगलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उनले बताए।

थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो। ‘अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु’, उनले खुसी हुँदै भने।


खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थालेका छन्। यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उनले कहिँकतै पनि आँखाको उपचार गराएका थिएनन्। गाउँमा नै सञ्चानल भएको आँखा शिविरबाट परीक्षणपछि निःशुल्क उपचार सेवा पाएको उनले बताए। गोलेको दुवै आँखाको शल्यक्रिय गरिएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिवलाल घिसिङ मधुरो देख्ने, चिलाउने, दुख्नेजस्ता समस्या भोगिरहेको बेला शिविरमा गएपछि उनको आँखाको शल्यक्रिया गरिएको छ। तालढुङ्गामा सञ्चालन भएको शिविर नजिकै परेका कारण छिमेकी जिल्लाका नागरिक पनि सेवा लिन आएका थिए।

खानीखोला–५ का नानीमाया ब्लोन, बिबीमाया गोले र लालमाया सिङ्तानको पनि सोही शिविरमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। हाल उनीहरु अस्पतालमा नै आराम गरिरहेका छन्। उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुग्न टाढा जानुपर्ने, खर्च धान्न मुश्किल र समयमा नै उपचार नपाइने समस्या थियो। गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि यहाँका नागरिकले सहजै सेवा पाएका छन्। गाउँको दुई ठाउँमा सञ्चालन गरिएको शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

आयोजक संस्था परिवर्तनशील समाज नेपालका अध्यक्ष क्षेत्रबहादुर वाइबाले भौगोलिक रुपमा विकट रहेको ठाउँमा शिविर आयोजना गरेर आँखाको निःशुल्क शल्यक्रिय गरिएको बताए। खानीखोलाको आर्थिक सहयोग तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा करिब तीन सयभन्दा बढीले सेवा पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here