काठमाडौँ महानगरकी उपप्रमुख डंगोल युरोप भ्रमणमा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपेली युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गरेकी छन्।

उनको भ्रमणका क्रममा युरोपेली युनियनका दक्षिण एसिया हेर्ने विज्ञ तथा अधिकारीहरूसँग अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्यासबारे बैठक तथा छलफल हुने महानगरपालिकाले जनाएको छ।


उक्त भ्रमण अवधिमा उपप्रमुख डंगोलले सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, साथै स्थानीय शासन सम्बन्धी विषयहरूमा अनुभव आदानप्रदान गर्ने छिन्।

त्यस्तै, उनले युरोपेली संसद् सदस्यहरूसँग संसद् सञ्चालन, विधायिकी अभ्यास र स्थानीय तहको भूमिकाबारे पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

लक्जेम्बर्गमा उनले स्थानीय न्यायिक अभ्यास, इजलास सञ्चालन, मेलमिलाप प्रक्रिया र वैकल्पिक विवाद समाधानको अभ्याससम्बन्धी अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।

यस भ्रमणका क्रममा उपप्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाको सम्भावना, स्थानीय सरकारका असल अभ्यास तथा नव प्रवर्तनात्मक योजनाहरूको बारेमा जानकारी गराउने कार्यक्रमसमेत रहेको महानगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here