कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न उपमेयर डंगोलको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएकी छन्।

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका अधिकारीलाई यस्तो निर्देशन दिएकी हुन्।


पोखरी वरिपरि राखिएका चैत्य तथा मूर्तिमा आगन्तुकले क्षति गरेको देखेपछि उनले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गरिने बताइन्।

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने गुरुयोजनाअनुरुप यहाँ पुनःनिर्माण भइरहेको छ। गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाखको लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएका छन्।

दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ। यसका लागि तीन करोड छ लाख आठ हजार ११ मा ठेक्का सम्झौता भएको छ। गत भदौ १९ गते कार्यादेश दिइएको यो योजना आगामी साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्ने छ।

यस्तै, ट्याक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ। साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ।

सिमाना पर्खाल बाहिर ट्याक्टिकल अर्बनिजमअन्तर्गत फल्चाशैलीमा परम्परागत बस बिसौनी, पैदलयात्रीले पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ, बिरुवा तथा फूल रोप्ने र सानो पार्क बनाउने काम भइरहेका छन्।

यस वर्ष ट्याक्टिकल अर्वनिजमका लागि करिब रु दुई करोड लागतमा करिब ३२ ठाउँमा काम भइरहेको महानगरले जनाएको छ। यसअन्तर्गत पोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने कामसमेत हुनेछन्। पोखरीको वरिपरी पैदलमार्ग छ।

चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला र उद्यान कमलपोखरीका विशेषता हुन्। पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन्। पूर्वतिर मूलढोकासँगै एउटा ठूलो पोखरी र त्यसको वरिपरि पाँच वटा मण्डप छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here