

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) असफल हुँदा देश नै असफल हुने बताएका छन् । आज (शनिबार) एमालेको झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने पार्टी एमालेमात्रै रहेको बताएका हुन् । उनले एमाले विनाको नेपालको सपना देख्नेहरुलाई ‘देशद्रोही’ को संज्ञा दिए ।
‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्ने छौँ। एमाले बिनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन। एमाले झन ठुलो भएर विजयी भएका आउने छ। जनतामा आधारित यो पार्टी देशको भविष्य हो। एमाले असफल भए देश असफल हुन्छ,’– उनले भने ।


प्रधानमन्त्री ओलीले एमालेले वैशाख ११ गते काठमाडौँमा युवा महोत्सव आयोजना गरिएको पनि जानकारी गराए । उनले सो महोत्सवमा ४० वर्षमुनिका युवाहरू काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जनताले फ्याँकिसकेको राजतन्त्र अब नेपालमा कहिल्यै पनि नफर्किने बताए । उनले राजतन्त्र फर्किन्छ कि भन्ने भ्रम नपाल्न समेत आग्रह गरे ।
