अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन



कञ्चनपुर । यातायात मजदुरले कञ्चनपुरमा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ । बिहान ६ः०० बजेदेखि अवरुद्ध राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ । राजमार्गका ठाउँ ठाउँमा मजदुरले गाडी तेर्स्याएर अवरोध सृजना गर्दा यात्रुहरूले पैदल नै गन्तव्यमा जानुपरेको थियो ।

सवारी चालक मुकेशराज अवस्थीमाथि सवारी दुर्घटनामा मुद्दा चलाएर बिहीबार पुर्पक्षका लागि अदालतले कारागार चलाउन गरेपछि रिहाइको माग गर्दै यातायात मजदुरले आज राजमार्ग अवरुद्ध गरेका थिए ।


चालकका आफन्तले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा दायर गरेको रिटमा सोमबार पेसी तोकिएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालन भएको छ ।

सवारी चालक अवस्थीका आफन्तले कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा दायर गरेको रिटको पेसी तोकिएपछि आन्दोलनरत पक्षले अवरुद्ध राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनका अनुसार यातायात र प्रशासनबिच भएको छलफलमा आन्दोलन स्थगन गर्ने सहमति भएको छ ।

माघ १९ गते कृष्णपुर नगरपालिका–२, बङ्कमा सुप्र ०२००१ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र कमलकान्त जोशी घाइते भएका थिए । त्यसपछि बस चालक अवस्थीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here