शिरोमणि आचार्यको योगदान अतुलनीय : भूपाल राई



काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

शिरोमणि आचार्यको एक सय ३८ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि आचार्य प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले इतिहास विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने भए पनि त्यसमा अहिलेका पिँढीको उचित ध्यान जान नसकेको बताए ।


कुलपति राईले आफू इतिहास शिरोमणि आचार्यको विद्धता र उनको योगदानका लागि प्रष्ठिानसँग सहकार्य गरेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । नेपालको राष्ट्रिय इतिहास र संस्कृतिका अन्वेषक आचार्य विषय प्रवचन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. रमेश ढुङ्गेलले अन्वेषणको आधुनिकता वा वैज्ञानिकताको आधारका उनी जीवनभर नै इतिहास–संस्कृति अन्वेषण र अध्ययनमा नै समर्पित रहेको विश्वास गर्न सकिन्छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा दिनेशराज पन्तले इतिहास शिरोमणि आचार्यलाई युरोपमुखी आधुनिकताका सिद्धान्त र व्यवहारले प्रभाव पारेको विषय तर्कसङ्गत भएको उल्लेख गरे । साथै उनले कार्यपत्र उल्लेख ‘आचार्यजीको जीवनको पूर्वाद्र्धदेखिको सङ्गत र प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव युरोपको आधुनिकतावाद र मानवतावाद र त्यसै धारको स्वतन्त्रताका हिमायती राजनीतिज्ञ, लेखक, दार्शनिक, साहित्यकार र समाजसेवीहरूसँग थियो’ भन्ने विषय उचित भएको बताए ।

इतिहास शिरोमणि प्रतिष्ठानका अध्यक्ष प्राडा त्रिरत्न मानन्धरले शिरोमणि आचार्य त्यसबेलाका अन्तरराष्ट्रिय व्यक्तित्व भएको बताउँदै आगामी दिनमा सरकारसँग सहकार्य गरेर उनको योगदानको कदर गर्न प्रतिष्ठान लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिरोमणि प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले शिरोमणि आचार्यले ‘जे देख्यो त्यो लेख्ने’ प्रवृत्ति आफूले पढेको बताउँदै उनी सृजनशीलतामा निडर र हक्की स्वभावको भएको उनका कृतिले  पुष्टि गर्ने उल्लेख गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here