बालेनको चेतावनी: ‘एक हप्ताभित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु !’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्।

महानगरका कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको गुनासो आइरहेका बेला सोमबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले अबको एक हप्तामा कर्मचारीले तलब नपाएको खण्डमा सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका हुन्।


‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! ’ उनले भने, ‘त्यो पछि हेरौँला तिमी हरुको के के तन्त्र हो!!’

काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको महिनौं बितिसकेको छ । तीन महिनादेखि महानगरका मेयरदेखि सरसफाइ कर्मचारीको तलब नै रोकिएको अवस्था छ । १० करोड रुपैयाँभन्दा माथिको आयोजना र सबै जनप्रतिनिधि तथा कर्मचारीको तलब गरेर करिब ७५ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । यस्तो परिस्थिति सिर्जना संघीय सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा भएको हो ।

चालु खातामा रकम ट्रान्सफर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । तर, महानगर र सरकारबीचको युद्धका कारण निकास पाउन सकेको छैन ।

मेयर बालेनले कानुनविपरीत काठमाडौँ टावरको नक्सा पास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध गत पुस ५ गते कारबाही गरेका थिए । उनलाई कार्यालय आउनै रोक लगाइयो । त्यसपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै उनले पहिलो पटक २०८१ पुस २४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका थिए । तर, मन्त्रालयले उल्टै गुरागाईंलाई नै निरन्तरता दिन भनेपछि मेयर बालेनले त्यसलाई ठाडै अस्विकार गरेका छन् । उनी गुरागाईंलाई महानगरमा हाजिर गराउन तयार छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here