

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
मंगलबार गृह मन्त्रालयमा दज्र्यानी चिन्ह लगाएपछि उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् ।


उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’
उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए । थापालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीमा बढुवा गरेको थियो ।
