


पाल्पा । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको बताएका हुन् ।
यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले भने । ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । वर्तमान सरकारको सुविधा थप्ने सरकारको मनसाय छैन ।’


उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए । राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले काँग्रेस , एमालेसहितका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।
शुक्रबार पाल्पा काँग्रेसको कार्यक्रममा सहभागी भएका सिंह आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुनेछन् ।
