हिंसात्मक गतिविधि बन्द गर्न मानवअधिकार आयोगको आग्रह



काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले समाजवादी मोर्चामा संलग्न ४ राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले शुक्रबार उपत्यकामा गरेको प्रदर्शन र आमसभाको अनुगमन गरेको छ । विभिन्न चारवटा उच्चस्तरीय टोलीहरु बनाई अयोगले अनुगमन गरेको हो । 

अनुगमनका क्रममा काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको आयोगले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  


प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको आयोगको भनाइ छ ।प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

 झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ । 

यस्तै राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि समेत प्रदर्शनकारीहरुबाट कोटेश्वरमा सांघातिक आक्रमण भएको छ । आक्रमणबाट अनुगमन टोलीमा संलग्न कर्मचारी घाइते भएका छन् । 

प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्याँस प्रहार गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको विज्ञप्तिमा उल्लेख छ । 

‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जान्छ । कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन’, आयोगको विज्ञप्तिमा भनिएको छ- ‘अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरुलाई शान्तिपूर्ण बनाउन, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नजाने असरप्रति संवेदनशील हुन आयोग आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here