

काठमाडौँ । मुख्य राजनीतिक दल निकट मजदुर संगठनले होटेल एसोसिएसन नेपाल (हान)लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आज हानका प्रमुख कार्यकारी अधिकृत (सिइओ)टेकेन्द्रबहादुर महतलाई ध्यानाकर्षण पत्र बुझाउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका हुन् ।


नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरा माजदुर संघका अध्यक्ष कुमार पन्त, नेपाली काँग्रेस निकट नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा गत वैशाखमा बुझाएका छ शुत्रीय माग सम्बोधन नहुनु दु:खद् उल्लेख छ ।
“मजदुर संगठनले १७ वर्षदेखि खाइपाई आएको सेवा शुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तर छलफल गर्दै आएका छौँ । नेपाल सरकार, हानलगायत सरोकार भएकालाई ज्ञापन पत्र तथा मागपत्र राखी सेवा शुल्क पुन:प्राप्ति र अन्य श्रमिक पक्षीय कानुनी व्यवस्था गर्न आह्वान गर्दछौँ”, सो पत्रमा भनिएको छ ।
हानका कार्यकारी अधिकृत महतले आफू मजदुरको विषयमा गम्भीर रहेको र ध्यानाकर्षण पत्रलाई हानको कार्यसमितिमा पेस गर्ने बताए ।
संगठनले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने, प्रधानमन्त्री, अर्थमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सबै राजनीतिक दलका संसदीय दलका कार्यालयमा ज्ञापन पत्र बुझाउनेदेखि सरोकार भएका पक्षसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यसैगरी, चैत २५ गते टे«ड युनियन महासंघको उपस्थितिमा काठमाडौँमा विशाल मजदुर सभा गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसपछि पनि आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
