

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । काठमाडौँ प्रशासनले शनिबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौँको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।


रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।
शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौँका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।
शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

