स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छः मन्त्री खड्का



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताएका छन् । शनिबारदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’ को समापन सत्रमा उनले मुलुकभित्र भएको स्रोतसाधनको सही सदुपयोग गरी न्यायोचित वितरणमा लाग्नुपर्ने बताएका हुन् ।

मन्त्री खड्काले सबै राजनीतिक दलको साझा धारणा मुलुकलाई जलस्रोेतमार्फत समृद्ध बनाउने भएकाले सम्मेलनमा उठेका सुझावलाई सरकारले ग्रहण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन र जनसहभागिता, अन्तरदेशीय सहकार्य, बृहत् आयोजनाबाट हुनुपर्ने सेवा प्रवाह, जलस्रोतको बहुउपयोग र जलवायु परिवर्तन, कृषि उत्पादकत्व, खानेपानी र सरसफाइ, जलस्रोतको उपयोगका विषयमा गहन छलफल भएको छ । यसलाई मार्गदर्शनका रूपमा स्वीकार्दै कार्यान्वयन गर्न मन्त्रालय लाग्नेछ”, उनले भने ।


जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले दुई दिने सम्मेलनले गरेको प्रतिबद्धतालाई आयोगले कार्यान्वयनमा लैजाने बताए । उनले पानीमार्फत मुलुकमा रोजगारी सिर्जना गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनले नौ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here