

बाँके । स्थानीय तहमा सूचीकृत भएका करिब आठ सय बेरोजगारले रोजगारीको माग गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले जिल्लाका सात स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि आयोजना गरेको दुई दिने ‘बाँके रोजगार मेला’ मा सूचीकृत बेरोजगारहरूले रोजगारीका अवसर सृजना गर्न माग गरेका हुन् ।
मेलाको पहिलो दिनमा छ सय बढीले र आज दुई सयले विभिन्न पदमा रोजगारी माग गरेका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले जानकारी दिए । संघका महासचिवसमेत रहेका उनले मेलामा जिल्लाका आठ स्थानीय तहका गाउँ टोलबाट बेरोजगारको घुइँचो लागेको बताए ।


रोजगार खोज्ने तीन सय जनाले स्टलमा फारम भरेका छन् । उनका अनुसार मेलामा रोजगारदाताका ३५ स्टल राखिएका छन् । “तीन सय हाराहारीमा रोजगारीका लागि फारम भरेकालाई संघका स्वयंसेवकले सूचीकृत गरेर सम्बन्धित रोजगारदाता कहाँ पठाएका छन्”, संयोजक रानाभाटले भने ।
संघका अध्यक्ष टंकबहादुर धामीले यहाँ आयोजित रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान हुनुका साथै आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्या समाधान गर्न अभियान सञ्चालन गरिने बताए । “त्यसका लागि आवश्यक तालिम, प्रशिक्षणका लागि स्थानीय सरकारसँग साझेदारी र सहकार्य गरिनेछ”, उनले भने ।
संघले रोजगार मेलामा फारम भरेका व्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने धामीले बताए ।
खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनीराम ओलीले गाउँ गाउँबाट आएर अवसर खोजी गर्नेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर रोजगारीसँग जोड्न आवश्यक भएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले रोजगारीका लागि आएका सबैलाई आवश्यक सहजीकरण गरेर रोजगारीसँग जोड्नु मेलाको उद्देश्य रहेको बताए । दुई दिनसम्म सञ्चालन भएको मेलामा रोजगार सेवा प्रदायक ३५ स्टल छन् ।
