

काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ ।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’


आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।
मन्त्रालयले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।
‘व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने, सञ्चार गृहमा आगजनी गर्ने, अस्पतालमा तोडफोड गर्ने, व्यापारिक केन्द्रमा तोडफोड गर्नेलगायत आपराधिक घटना भएका छन्। आपराधिक कार्यमा संलग्न सबैलाई पक्राउ गर्छौं। रेकर्डको आधारमा, इन्टेलिजेन्सको सूचनाको आधारमा सबैलाई कारबाहीको दायरमा ल्याउँछौं,’ गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने।
