सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए



काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् । 


‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइने निर्णय पनि भएको छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।’ 

यसअघि सोमबारको बैठकपछि भने गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए । तर, अन्य मन्त्रीहरूले सोमबार नै कुलमान हटाएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए । 

सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै कांग्रेसकै केही नेता र प्रतिपक्षी दलका नेताले विरोध गर्नुका साथै जनस्तरमा समेत असन्तुष्टि देखिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here