

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।
एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा महासचिव पोखरेलले समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताएका हुन् ।


उनले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएका टिप्पणी गरे । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उनले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्छ भने ।
महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताए । उनले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताए ।
