सडकमा दश पन्ध्र हजारको जुलुस निस्कँदैमा उत्पात केही हुनेवाला छैनः प्रधानमन्त्री ओली



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको बताएका छन् ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु भएको आठौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।


‘देशलाई पछि फर्काउन एउटा पक्ष लागिरहेको छ । दशपन्ध्र हजारको जुलुस निस्कँदैमा उत्पात केही हुँदैन, अहिले ९७ प्रतिशत जनताको घरमा विद्युत् पुगेको छ, विद्युत् उत्पादन बढाउने काममा अघि बढेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले गैरविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । उनले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरे ।

‘वषौँसम्म त्यही निकायमा कामा गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।’

युवा पुस्ताले सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गरिरहेका भनी खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने,’आजको समय कम्प्युटरको समय हो, एआई प्रविधिको समय हो, महिलाहरुले पनि धेरै काम गर्नुभएको छ, आजको मेला महिलामा पनि आमाहरुको मेला हो, अब छोरी पुस्ताले पनि उद्यमशीलतामा ध्यान दिनुपर्छ, दिदीबहिनीका प्रयासलाई म धन्यवाद भन्न चाहान्छु ।’

जकडिएर रहेका केही सामन्ती सोच र व्यवहारका कारण देश अगाडि बढ्न नसकेको चर्चा गर्दै उनले भने, ‘बाह्य रुपमा कायम रहेको उपनिवेश, देशभित्रै रहेको सामन्ती प्रथा, वर्णाश्रम व्यवस्थाले दबाइएको परिस्थितिका कारण हाम्रो समाज अगाडि बढ्न सकेन, महिलालाई शिक्षादीक्षा दिनुहुँदैन भन्ने सामन्ती सोच थियोे, खुसी हुन पनि नपाइने समाज थियोे, महिलालाई पछाडि पारेपछि देशको विकास नहुने नै भयो ।’

प्रधानमन्त्री ओलीले सो अवसरमा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध अविच्छिन्न रुपमा काम गर्दै आएको संस्था माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र उद्यमशीलता क्षेत्रमा योगदान गर्नुभएकोमा दाङ घोराहीका प्रेम कुमारी पुनलाई सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here