‘शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो’



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संविधान, कानुन र वर्तमान व्यवस्थाविपरीत प्रर्दशनकारी समूहले मानवीयसहित विभिन्न स्थानमा भौतिक संरचना तोडफोड, आगजनीलगायत गरेका घटना आपराधिक क्रियाकलाप भएकाले सरकारले यथाशीघ्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे।


पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको शान्ति सुव्यवस्था खलबलाउने उक्त घटना अराजनीतिक तथा निन्दनीय रहेको धारणा राखे। मुलुकको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएर शान्ति सुरक्षासहित नागरिकको ज्यानको रक्षाको जिम्मेवारीलाई थप सशक्त बनाउनुपर्नेमा उनले जोड दिए।

पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेले घटनामा संलग्न अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै परिवर्तन पक्षधर सबै देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्व हुन आह्वान गरे।

राजावादी समर्थकद्वारा शुक्रबार भएको घटनाको क्षतिबारे बुझ्न आज गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here